चीनले नेपालमा बाढी तथा पहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा सघाउन डीएनए पहिचान विज्ञसहित आवश्यक उपकरण पठाउने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिनुभएको हो। चीनले डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरणका साथै ड्रोन, पानी शुद्धीकरणका सामग्री र अन्य तत्काल चाहिने राहत सामग्रीसमेत नेपाल पठाउन लागेको छ।
नेपालमा विनाशकारी बाढी र पहिरोपछि ठूलो संख्यामा मानिसहरू बेपत्ता भएकाले शव पहिचानको काम निकै चुनौतीपूर्ण बन्दै गएको छ। नदीमा धेरै दिनसम्म शव रहँदा बिग्रिएका कारण तिनको पहिचान गर्न कठिनाइ भइरहेको अवस्थामा चीनले पठाउने डीएनए विज्ञ तथा प्रविधिले शव पहिचान प्रक्रियालाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
१६ भदौ २०८३, मङ्गलबार ०१:५९ मा प्रकाशित