काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट नवनिर्वाचित सांसद महावीर पुन फेरि सडक किनारमा आफ्नो किताब बेच्न ओर्लिएका छन्।
पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको र मेयर धनराज आचार्यले सडकमा नबस्न सुझाव दिएका थिए पनि पुनले आफ्नो अभियान जारी राख्ने घोषणा गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले भने, “शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु।”
केही समयअघि मेयर आचार्यले कानुनको हवाला दिँदै पुनलाई सडकमा किताब नबेच्न आग्रह गरेका थिए। यसको जवाफमा पुनले व्यङ्ग्यात्मक शैलीमा भने, “अनि के गरेर बस्ने त नि मेयर साहब? गाह्रो पिरो नमान्नु होला।”
निर्वाचन जितेपछि पुनले आफ्नो निर्वाचन क्षेत्र म्याग्दीका ६ वटै स्थानीय तह भ्रमण गरी विकास र बजेटका विषयमा छलफल गरिसकेका छन्। औपचारिक रूपमा सांसदको जिम्मेवारी सम्हाल्ने प्रक्रिया ढिलाइ भएकाले उनले पुनः पुस्तक बिक्रीको दैनिकी रोजेका हुन्।