काठमाडौँ— रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक दिनेशप्रसाद थानीले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई प्रशंसा पत्र र दोसल्ला प्रदान गरी सम्मान गरेका हुन्।
सम्मानित हुनेमा चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिशचन्द्र हमाल तथा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना रहेका छन्।
प्रशासनका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनीहरूले खेलेको भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो। संवेदनशील मानिएको जिल्लामा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा समितिका सदस्यबीचको समन्वय र सक्रियता महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी थानीले बताएका छन्।
उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूले उच्च व्यावसायिकता, अनुशासन र समन्वय क्षमता प्रदर्शन गरेको उल्लेख गरे।
यसअघि जिल्ला प्रहरी कार्यालयले पनि निर्वाचनमा योगदान पुर्याएका २४ जना प्रहरी कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरेको जनाएको छ।