२३ मंसिर, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले महिलाप्रति निरन्तर रूपमा अपमानजनक व्यवहार गरेको आरोप लगाएकी छन्। एमालेको ११ औँ महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ जस्ता शब्द प्रयोग गरेर बारम्बार अपमान गरेकोप्रति कडा आपत्ति जनाइन्। उनका अनुसार गणतन्त्र नेपालका प्रधानमन्त्री भइसकेको व्यक्तिबाट पूर्वराष्ट्रपतिलाई यस्ता अभद्र शब्द प्रयोग हुनु अस्वीकार्य हो।
शाक्यले भनिन्, ‘उहाँ (ओली) मा सोच नै छैन, महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन। आधाभन्दा बढी जनसंख्या महिलाले ओगटिरहेको देशमा, महिला हिंसाविरुद्ध लगातार आवाज उठिरहेका बेलामा यस्तो शब्द प्रयोग गर्नु सम्पूर्ण महिलाको अपमान हो।’ उनले महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यकता नभएको जिकिर गर्दै यसको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीलाई लक्षित गर्दै ओलीले गरेका अभिव्यक्तिलाई प्रश्न उठाउँदै शाक्यले भनिन्, ‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति, संविधानको संरक्षक—उनीहरूलाई धामीझाँक्री भनेर अपमान गर्न पाइन्छ ? सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्वराष्ट्रपतिलाई यस्तो शब्दले अपमान गर्नु नेतृत्वलाई सुहाउँदैन।’
ओलीले विगतमा सञ्चारमाध्यममा भण्डारीले चालेका कदमबारे व्यंग्य गर्दै आफूले सल्लाह नदिएर परैबाट धामीझैँ घुमाउँदै ‘म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ जस्ता शैलीमा आएको उल्लेख गरिरहेका थिए। यही टिप्पणीलाई शाक्यले आपत्तिजनक ठहर गर्दै ओलीजस्तो नेतृत्व अब देशको आवश्यकता नरहेको बताइन्।
उनका अनुसार महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व कुनै पनि अवस्थामा स्वीकार्य नभएको र यो विषय जल्दै उठ्नुपर्ने मुद्दा हो। शाक्यले जोड दिँदै भनिन्, ‘यस्तो नेतृत्व आजको आवश्यकता होइन। महिलालाई अपमान गर्ने नेतृत्व कहिल्यै स्वीकार्य हुन सक्दैन, त्यसैले यो इस्यू सशक्त रूपमा उठ्नुपर्छ।’