काठमाडौँ ।नेकपा (एमाले) ले ‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड पुष्पराज श्रेष्ठलाई जिम्मेवारी सुम्पेको छ। शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा आयोजित कार्यक्रममा ४३ वर्षीय श्रेष्ठलाई संयोजकको पदमा नियुक्त गरिएको हो। उनी यसअघि एमालेको युवा दस्ता ‘युथ फोर्स’मा आबद्ध थिए र जेनजी आन्दोलनपछि गठन भएको भोलेन्टियर्स फोर्सको नेतृत्व पनि पाएका छन्।
तर, श्रेष्ठ विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति भएको तथ्यले चर्चा बढाएको छ। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनलाई हालसम्म सात वटा मुद्दा खेप्नुपरेको छ। तीमध्ये ४ वटा ज्यान मार्ने उद्योग, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार), र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दर्ता भएको छ।
श्रेष्ठको विगत लामो र जटिल छ। २०७५ भदौ २६ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला उनी माओवादीको योङ क्युनिष्ट लिग (वाईसीएल) सिन्धुली जिल्ला अध्यक्ष थिए र ठेक्कापट्टा सम्बन्धी विवादका कारण पक्राउ परेका थिए।
यसअघि पनि उनीविरुद्ध विभिन्न घटनामा ज्यान मार्ने धम्की, कुटपिट, लुटपाट, अपहरण लगायतका मुद्दा दर्ता भएका छन्। २०६३ सालदेखि करिब २० वर्षदेखि श्रेष्ठ अपराधको दुनियाँमा संलग्न रहेको तथ्य देखिन्छ।
राजनीतिक पृष्ठभूमिमा, तत्कालीन माओवादी शान्ति प्रक्रियासँगै श्रेष्ठ माओवादीमा प्रवेश गरेका थिए। त्यसपछि वाईसीएल केन्द्रीय सदस्य हुँदै सिन्धुली जिल्ला इन्चार्ज बनेका थिए। २०७५ सालमा माओवादी र एमाले मिलेर नेकपा बनेपछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बने। रामबहादुर थापा बादल गृह मन्त्री रहेका बेला ठेक्कापट्टा र असुलीमा उनको निकटता थियो।
नेकपा विभाजनपछि श्रेष्ठ एमालेमै रहे र अहिले भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी पाएका छन्। उनको विवादित विगत र वर्तमान राजनीतिक जिम्मेवारीले पार्टी भित्र र बाहिर चर्चा कमाएको छैन।