कांग्रेसमा समानुपातिक सूचीका लागि ६०/४० भागबन्डाको प्रस्ताव

श्याम खतिवडा

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्ने क्रममा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०/४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ। उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको यस चरणमा सभापति शेरबहादुर देउवा पक्षबाट ६० प्रतिशत र गगन थापा तथा शेखर कोइराला समूहबाट ४० प्रतिशत उम्मेदवार समेट्ने प्रस्ताव गरिएको हो। तर संस्थापन पक्षबाट आएको उक्त प्रस्तावलाई महामन्त्री गगन थापासहित नेताहरूले अझै औपचारिक रूपमा स्वीकार गरिनसकेको उनी निकट एक केन्द्रीय सदस्यले बताए। कांग्रेसमा विगतदेखि नै समानुपातिक उम्मेदवार छनोटमा यस प्रकारको भागबन्डा अभ्यास हुँदै आएको बताइन्छ। समानुपातिकतर्फ उम्मेदवारी दिने सोमबार अन्तिम दिन रहेकाले सूची बुझाउन दलहरू निर्णायक गृहकार्यमा जुटेका छन्।

कांग्रेसका शीर्ष नेताहरू पनि सूची टुंग्याउन आन्तरिक छलफलमा सक्रिय छन्। निर्वाचन आयोगमा ११० जनाको सूची विभिन्न क्लस्टर मिलाएर पेस गर्नुपर्ने बाध्यताबीच कांग्रेसले यसपटक विगतमा समानुपातिक उम्मेदवार भइसकेकालाई पुनः नदिने नीति लिएको जनाएको छ, जसका कारण सूची तयार गर्ने प्रक्रिया थप जटिल बनेको छ।

प्रतिक्रिया