एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

nepaltext.com

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको यस पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण सूचनाहरू एकै स्थानमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

ग्राहक महानुभावहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा उल्लेख गरिएको क्युआर कोड स्क्यान गरी https://auctionassistance.nicasiabank.com पोर्टलमा प्रवेश गर्न सक्नेछन्। उक्त पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्यापसहितका विवरणहरू समावेश गरिएको बैंकले जनाएको छ। यसका साथै, खरिद गर्न इच्छुक ग्राहकहरूले सम्बन्धित सम्पत्तिको विवरण रहेको स्थानमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी थप जानकारीका लागि सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रही लिलाम बिक्रीमा रहेका सम्पत्तिहरू र लिलाम प्रक्रियासम्बन्धी अन्य सूचनाहरू अद्यावधिक गरिँदै जानेछ। खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले उक्त पोर्टलमार्फत बिक्रीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण प्राप्त गरी लाभ लिन सक्ने बैंकले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया