काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया बानेश्वरस्थित आफ्नै निवासमा मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनले आत्महत्या गरेको आशंका प्रहरीले जनाएको छ। एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम मानिन्थे।
उनको मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए। आइतबार दिउँसो घरको भर्याङ छानो (सिलिङ)मा पासो लागेको अवस्थामा खनिया फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले इन्टरनेटको वायर प्रयोग गरी पासो लगाइएको देखिएको जानकारी दिएको छ।
घटना हुँदा उनकी पत्नी र छोरी घर बाहिर रहेको खुलेको छ। घटनास्थलबाट हालसम्म कुनै सुसाइड नोट फेला परेको छैन।
खनियाका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। दिपेन्द्र खनियाले कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायत माध्यममा काम गर्दै २०६३ सालदेखि हास्यव्यंग्य रेडियो कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए।