चुनावी प्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाइने

nepaltext.com

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा एक उम्मेदवारले चुनावी प्रचार–प्रसार गर्दा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार तोकिएको मापदण्डभन्दा बढी गाडी प्रयोग गरे कारबाही हुने स्पष्ट गरिएको हो। आचारसंहितामा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर मात्र आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र वा उम्मेदवारी दर्ता गरिएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सवारी साधन नचल्ने स्थानमा भने बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने प्रावधान राखिएको छ। यससँगै निर्वाचनलाई स्वच्छ, मर्यादित र समान प्रतिस्पर्धायुक्त बनाउन राजनीतिक दल, उम्मेदवार, पार्टीका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले चुनावी प्रचारमा प्रयोग गर्ने कुनै पनि सवारी साधन विदेशी नम्बर प्लेटको हुन नपाउने व्यवस्था गरिएको छ। त्यस्तै, एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अर्का उम्मेदवारले प्रयोग गर्नसमेत नपाइने स्पष्ट गरिएको छ। आचारसंहिताले चुनावी गतिविधिमा सवारी साधनको दुरुपयोग रोक्न थप कडाइ गर्दै अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पनि पूर्ण रूपमा निषेध गरेको छ। निर्वाचन आयोगका अनुसार यस्ता प्रावधानको उद्देश्य आर्थिक असमानताका कारण निर्वाचन प्रक्रियामा हुने प्रभाव कम गर्नु र सबै उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नु हो।

प्रतिक्रिया