११ पुस, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको थियो । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार १ सय ६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार उकालो लागेको छ । गत बुधबार छापावाल सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार २ लाख ६७ हजार २ सय, सोमबार २ लाख ६१ हजार ७ सय र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण मूल्यमा निरन्तर वृद्धि देखिएको व्यवसायीहरूको भनाइ छ ।