संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
प्रहरीका अनुसार राईमाथि बिहीबार राति करिब ७ बजे गोली प्रहार भएको थियो। खाना खाएर हात धुन विद्यालय बाहिर निस्किएका बेला उनीमाथि विद्यालय नजिकैबाट भरुवा बन्दुक प्रहार गरिएको बताइएको छ।
गोली लागेर राईको देब्रे कोखमा चोट लागेको र घटनास्थलमै ढलेका थिए। बन्दुकको आवाज सुनेपछि उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईले प्रहरीलाई बताएकी छन्।
राईमाथि गोली कसले र किन प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।