काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँगको भेटघाटका क्रममा उनले प्रजातन्त्रको मूल आधार निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए। उनले निर्वाचनले नै संविधान जोगाउने र मुलुकलाई वर्तमान सङ्क्रमणबाट बाहिर निकाल्ने धारणा राख्दै भने, ‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’
डा. कोइरालाले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाउन नसकेको आरोप पनि लगाए। उनले वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, ‘दलका केही नेतालाई काठमाडौ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’ उनले यस्ता अवस्था रहँदा निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्भव हुनेमा प्रश्न उठेको बताए। साथै, उनले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै कांग्रेस निर्वाचनका लागि सधैं तयार रहेको स्पष्ट पारे।