काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई २०८२ मंसिरभित्र १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याउन आग्रह गरेका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले नियमित महाधिवेशनमा जानुको विकल्प नरहेको स्पष्ट पारे। अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशनको तयारीमा जुटिसकेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेसले पनि यही समयमा महाधिवेशन सम्पन्न गर्नुपर्छ। नयाँ दिशा र सम्भावनाको पार्टी बनाउने हो भने यही बेला अवसर हो।’
विशेष महाधिवेशनका लागि चलाइएको हस्ताक्षर अभियानलाई उनले कांग्रेसभित्रको ऊर्जाको रूपमा लिन आग्रह गरे। उनका अनुसार, पार्टीले अब कर्मकाण्डी भन्दा पनि परिवर्तनको वाहकको रूपमा आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ।
‘कांग्रेसलाई युवा, ऊर्जा र अनुभवी पुस्ताको संयोजन भएको पार्टीका रूपमा स्थापित गर्न हामी नियमित अधिवेशनमार्फत अघि बढ्न सक्छौं,’ उनले भने। महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई जनस्तरमा पुनः जागृत गर्न सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गरे।