आमोदप्रसाद उपाध्यायको निधनमा पुस १ गते कांग्रेसका सबै कार्यालय बन्द, तीन दिन झण्डा आधा झुकाइने

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा तहसम्मका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले मङ्सिर २९ गतेदेखि पुस २ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।

बैठकले स्वर्गीय उपाध्यायको स्वर्गारोहणको १३ औँ दिनसम्म पार्टीका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा १३ औँ दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । आजको बैठक उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको थियो ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं वरिष्ठ नेता आमोदप्रसाद उपाध्यायको काठमाडौँस्थित ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो । कार्यसमिति बैठकले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ ।

राजनीतिक जीवनमा लामो योगदान दिएका उपाध्याय २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । उनी २०५६ मङ्सिर २३ गते सम्पन्न उपनिर्वाचनमार्फत मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५६ सालमै शिक्षा तथा खेलकुद मन्त्री बनेका उपाध्याय २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि पुनःस्थापित व्यवस्थापिका संसद्का सदस्य पनि थिए । त्यसैगरी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा मोरङ–१ बाट निर्वाचित उनी २०६९ सालमा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकका रूपमा समेत कार्यरत रहेका थिए ।

प्रतिक्रिया