काठमाडौं । नेपालमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले बढेर ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। तुलना गर्दा अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि मात्र ९.४ प्रतिशत रहेको थियो। विशेषगरी कात्तिक महिनामा मात्र विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रह्यो, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब १४ अर्ब ३१ करोडको तुलनामा बढी हो।
विदेशबाट अमेरिकी डलरमा प्राप्त विप्रेषण २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यो वृद्धि ८.२ प्रतिशतमा सीमित थियो। त्यस्तै, खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ खर्ब ६९ अर्ब २९ करोडको तुलनामा बढी हो।
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यस अवधिमा १ लाख ४५ हजार ९७३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः १ लाख ४७ हजार ४७८ र ९४ हजार १०५ थिए।