जाहेरवालातर्फको वकिल न्यायाधीशका आफन्त परेपछि रवि लामिछाने–छविलाल जोशीको सहकारी ठगी मुद्दा आज पनि स्थगित

nepaltext.com

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा रहेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले नेपाल प्रेसलाई बताए।

कुँवरका अनुसार न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानुन व्यवसायी रहेकाले प्रक्रिया अघि बढाउन नमिल्ने भएको हो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ गतेदेखि निरन्तर सारिँदै आएको छ।

यसअघि दुई पटक लामिछाने पक्षका कानुनी प्रतिनिधिले निवेदन दिएर सुनुवाइ सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण पेसी हेर्न नसकिएको थियो।

प्रतिक्रिया