एनआरएनको एकताबाट नेपाली राजनितिक दलहरुले एकता सिक्नुपर्छः प्रधानमन्त्री कार्की

nepaltext.com

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए) एकतामा पुगेपछि अब त्यस्तै एकता राजनीतिक दलहरूमा पनि अपरिहार्य भएको बताएकी छिन्। आइतबार आयोजित एनआरएनएको बृहत् एकता कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरू पदको प्रतिस्पर्धामा एकआपसमा फुटिरहेको उल्लेख गरिन् र मेलमिलापको आवश्यकता औँल्याइन्।

उनले भनिन्, ‘एनआरएनएहरूको यो उपस्थितिले बलियो बन्ने देखिएको छ। तपाईंहरू एक हुनुभएको छ, यो राम्रो सन्देश हो। पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरूमा के भइरहेको छ तपाईंहरूलाई थाहा नै छ। पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन्। कमसेकम तपाईंहरू मिलेजस्तो दलहरूमा पनि मेलमिलापको आवश्यक छ। नेता–नेता फुटेको देखिन्छ। विभिन्न दलहरूको एकआपसमा पानी बाराबार देखिन्छ। त्यस्तोले देश चल्दैन। तपाईंहरू मिल्नुभयो, यो पनि राजनीतिक दलहरूको लागि उदाहरण हो।’

प्रधानमन्त्री कार्कीले विदेशमा बसेका नेपालीहरूले केही अधिकार नपाए पनि नेपालप्रतिको सद्भावमा कमी नआएको भन्दै प्रशंसा गरिन्। उनले भनिन्, ‘मेरो सल्लाह के छ भने तपाईंहरू नेपाली हुँ भनेर नेपालप्रति जति सद्भाव देखाउनुहुन्छ, त्यति तपाईंहरूले नेपाली होइन भनी नेपालीले पाउने नागरिकताबाट त्यो अभाव बन्छ जस्तो मलाई लाग्दैन। किनभने जसले पनि आफ्नो मान्छेलाई आफ्नै मान्छेले बनाउँछ। जो नेपाली जहाँ रहे पनि नेपाली नै हो।’

प्रतिक्रिया