नयाँ दिल्लीमा ‘नेपाली फुड फेस्टिभल २०२६’ भव्य रूपमा सम्पन्न

nepaltext

नयाँ दिल्लीमा । नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा आयोजित उक्त कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति सुदृढीकरण तथा आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो।

कार्यक्रममा भारत सरकारका उच्च अधिकारीहरू, विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, राजनीतिक व्यक्तित्वहरू, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरू, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीका प्रतिनिधि तथा सञ्चारकर्मीहरू सहित ३०० भन्दा बढी विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा नेपालका लागि राजदूत डा. शंकर प्रसाद शर्माले स्वागत मन्तव्य दिँदै नेपाली खानाको सांस्कृतिक, सामाजिक तथा पर्यटनसँगको सम्बन्धबारे प्रकाश पारे। उनले नेपाली परिकारहरूको मौलिकता, विविधता र परम्परागत पकाउने शैलीबारे जानकारी गराउँदै अतिथिहरूलाई विभिन्न नेपाली व्यञ्जनहरूको स्वाद लिन आमन्त्रण गरे।

कार्यक्रममा नेपालको विभिन्न भौगोलिक क्षेत्र र समुदायहरूको प्रतिनिधित्व गर्ने परम्परागत परिकारहरू प्रस्तुत गरिनुका साथै सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। ती प्रस्तुतीहरूले नेपालको सांस्कृतिक सम्पदा र जीवन्त परम्पराको झल्को दिएका थिए।

फेस्टिभलले भारतीय सञ्चारमाध्यमहरूमा पनि उल्लेखनीय स्थान पाएको जनाइएको छ। यसले नेपाली खानपान, संस्कृति तथा पर्यटन सम्भावनाको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समग्रमा, “नेपाली फुड फेस्टिभल २०२६” ले नेपालको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माण गर्न, नेपाल–भारतबीच जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउन तथा भविष्यमा सहकार्यका अवसर विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको राजदूतावासले जनाएको छ।

प्रतिक्रिया