सिन्धुपाल्चोकमा १०२ मेगावाट मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको परीक्षण सफल

nepaltext.com

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाट क्षमताको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाले सफलतापूर्वक उत्पादन परीक्षण सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा बनेको यस आयोजनाले सोमबार पहिलो युनिटबाट ३४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको हो।

प्रवर्द्धक कम्पनी मध्य–भोटेकोसी जलविद्युत् कम्पनीका अनुसार पहिलो युनिट सफल भएपछि अब बाँकी दुई युनिटको पनि परीक्षण उत्पादन हुनेछ। सबै परीक्षण चरण सफल भएसँगै असोजको पहिलो सातादेखि आयोजनाले १५ दिनसम्म पूर्ण क्षमतामा परीक्षण उत्पादन गर्नेछ। त्यसपश्चात असोजको दोस्रो सातादेखि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिएको छ।

आयोजनाबाट उत्पादित विद्युत् बाह्रबिसे–३ पतालिमा रहेको सबस्टेसनमार्फत खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा जोडेर राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो।

२०७० सालमा निर्माण सुरु भएको आयोजनाको प्रारम्भिक लक्ष्य २०७३ सालमै सम्पन्न गर्ने थियो। तर, २०७२ सालको भूकम्प, भारतको नाकाबन्दी, बाढी तथा पहिरोलगायतका कारण निर्माणमा ढिलाइ भएको हो।

आयोजनाको प्रारम्भिक अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँ भए पनि ढिलाइका कारण खर्च बढ्दै हाल १५ अर्बभन्दा बढी पुगेको कम्पनीले जनाएको छ। कुल लगानीमध्ये ५० प्रतिशत इक्विटी र ५० प्रतिशत ऋणबाट जुटाइएको हो।

कम्पनीको शेयर संरचनाअनुसार ५१ प्रतिशत संस्थापक समूहमा प्राधिकरणको १०, चिलिमेको ३७, सिन्धुपाल्चोक हाइड्रो पावर, नेपाल अरनिको हाइड्रो, सिन्धु इनभेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रो पावरका तर्फबाट १–१ प्रतिशत रहेको छ। बाँकी ४९ प्रतिशत साधारण समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १९.५, संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर रहेको छ। कम्पनीमा करिब १० लाख ७५ हजार साधारण लगानीकर्ता रहेका छन्।

आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले हिउँदमा प्रतियुनिट रु ८.४० र वर्षायाममा रु ४.८० मा खरिद गर्ने भएकाले कम्पनीलाई वार्षिक करिब २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

प्रतिक्रिया