काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि हाल कायम रहेका लेखा परीक्षक एन.बी.एस.एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय सभाले गरेको छ।
कम्पनीले २०८२ आषाढ मसान्तसम्मको वासलातअनुसार प्रति शेयर आम्दानी रु. १८.२० रहेको जनाएको छ। वितरण योग्य आम्दानीको १७.८३ प्रतिशत मध्येबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत, अर्थात् कर सहित रु. ७.७२ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।
नेपालको पूँजी बजार इतिहासमा प्रथम मर्चेन्ट बैंकिङ संस्थाका रूपमा स्थापना भएको लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि धितोपत्र बजारको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
कम्पनीले हाल करिब ६ अर्ब रुपैयाँ बराबरका ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ। यी सबै फण्डहरूले आर्थिक वर्ष २०८१/८२ मा दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन्।
यस्तै, विशिष्टीकृत लगानी कोष अन्तर्गत सञ्चालनमा रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले एक अर्ब रुपैयाँ पुँजीका साथ दिगो उर्जामा लगानी गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड Operating Principles for Impact Management (Impact Principles) मा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो। उक्त अन्तर्राष्ट्रिय सञ्जालले सामाजिक र वातावरणीय दृष्टिले उत्तरदायी तथा पारदर्शी लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यस सदस्यताले कम्पनीको दिगो र जिम्मेवार लगानीप्रति प्रतिबद्धतालाई झल्काउँछ।