काठमाडौँ । एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । पुस महिनाका लागि बैंकहरूले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । आज सार्वजनिक बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ ।
मंसिर महिनामा यो दर ५.०४०५ प्रतिशतविन्दु रहेकोमा पुसमा औसत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको हो । १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशत तथा कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले कटौती गरेका छन् ।
यसैबीच, सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकसहित ७ वाणिज्य बैंकले मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने भएका छन् भने सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ ।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फ पनि ब्याजदर घट्ने क्रम जारी छ । मंसिरको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुसका लागि ५ वाणिज्य बैंकले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
Source: न्युज एजेन्सी नेपाल