एमालेको दोस्रो विधान महाधिवेशन २० गते देखि गोदावरीमा सुरु हुँदै, भव्य तयारीमा एमाले

nepaltext.com

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरुहुने भएको छ । पार्टीले यस महाधिवेशनलाई ऐतिहासिक मोडका रूपमा लिएको छ, जसले सांगठानिक सुदृढीकरण र आगामी कार्यदिशा निर्धारण गर्नेछ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे विशेष समारोहका बीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल २,३४१ जना सहभागी हुनेछन्। "निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य" भन्ने नारासहित सुरु हुने यो महाधिवेशनका लागि मञ्च सजावटदेखि स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, यातायात र झाँकी प्रदर्शनसम्म सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

उद्घाटन सत्रमै अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवाद स्थापना र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने खाका समेटिएको छ।

यस्तै, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षको उमेर सीमा हटाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी गठन, एकतिहाइ पोलिटब्यूरो संरचना, १५ पदाधिकारी रहने स्थायी कमिटी लगायतका विषय समेटिएका छन्। पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।

महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्नेछन्। सो प्रतिवेदनमा पार्टी निर्माणका चुनौती, समाधानका उपाय, समाजमा विश्वास जगाउने रणनीति र पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित गर्ने योजना समेटिएको छ।

महाधिवेशनमा विभिन्न आयोग तथा परिषद्को प्रतिवेदन पनि प्रस्तुत हुनेछ। त्यसलाई व्यवस्थित र भव्य बनाउन प्रतिनिधि व्यवस्थापन, आवास, स्वास्थ्य, प्रचार, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, खाद्य तथा सचिवालय व्यवस्थापन, स्वागत गेट निर्माणलगायतका जिम्मेवारीका लागि उपसमिति गठन गरिएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूलाई महाधिवेशनको सफलताका लागि सहकार्य गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया