काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै निरन्तर रूपमा बजारबाट पैसा खिचिरहेको छ । सोही क्रममा केन्द्रीय बैंकले आज मंसिर २८ गते फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज दिउँसो २ बजे निक्षेप संकलन उपकरणको बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गरिनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो १० दिने निक्षेप संकलन उपकरणअन्तर्गत आगामी पुस ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । पछिल्लो समय कर्जाको माग उल्लेख्य रूपमा नबढेपछि बैंकिङ प्रणालीमा तरलता अत्यधिक रूपमा थुप्रिएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् ।