२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाएकी छन् । युवाका लागि ठाउँ छाड्ने उद्देश्यले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष उम्मेदवार नबन्ने घोषणा गरिसकेकी कोइरालाले मोरङ क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ पुरानै नेताहरूको नाम सिफारिस भएपछि असन्तुष्टि व्यक्त गरेकी हुन् । उक्त क्षेत्रबाट प्रत्यक्षतर्फ डाक्टर मीनेन्द्र रिजाल, कोशी प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिलातर्फ नारायणी पण्डितको नाम सिफारिस गरिएको छ । रिजाल २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
युवाका लागि आफूले चुनाव नलड्ने निर्णय गरे पनि प्रत्यक्षतर्फ फेरि पुरानै नेताहरूको नाम अघि सारिएकोप्रति कोइरालाले गुनासो गरेकी छन् । ‘मैले चुनाव लड्दिन भनेर डिक्लेयर गरेँ, मेरो ठाउँमा कोही युवाहरू आइदियोस् भन्ने मेरो सोच हो । अनफरचुनेल्टी त्यहाँ (क्षेत्र नम्बर-२ मा) युवाहरू आएनन् । पुरानै मान्छेहरू सिफारिस भएका छन्,’ उनले भनेकी छन्, ‘यो एकदमै दुःख लाग्दो कुरा हो, अब चाहिँ युवाहरूलाई अगाडि बढाउनै पर्छ यसरी भएन ।’ उनले उम्मेदवार सिफारिसमा युवालाई प्राथमिकता दिन पनि आग्रह गरेकी छन् । कोइरालाको क्षेत्र मात्रै होइन, मोरङका छ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ पुरानै नेताहरूको नाम सिफारिस भएको र नयाँ तथा युवा अनुहारहरू सूचीमा अटाउन नसकेको उनको भनाइ छ ।
क्षेत्रीय समितिले सुजाता कोइरालाको नाम भने समानुपातिक सूचीमा समेटेर पठाएको छ । २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–२ बाट कोइराला एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले सहमति जुटेको क्षेत्रमा एकल र सहमति नजुटेको क्षेत्रमा आकांक्षीहरूको नाम सिफारिस गरिएको जानकारी दिएका छन् । उनका अनुसार युवाहरूको समर्थनकै आधारमा नाम सिफारिस गरिएको हो ।
मोरङ क्षेत्र नम्बर–६ बाट डा. शेखर कोइरालाको एकल नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । सो क्षेत्रबाट समानुपातिकतर्फ राष्ट्रिय सभा संसदीय दलका पूर्वनेता रमेशजंग रायमाझी र डिला संग्रौलासहित रुक्मिणी कोइराला, प्रमिलाकुमारी गच्छदार, मृदुला कोइराला, सीता पोखरेल र सरिता थापा मगरको नाम सिफारिस गरिएको छ । २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट डा. शेखर कोइराला निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर–३ बाट मेडिकल व्यवसायी डाक्टर सुनिल शर्माको एकल नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट उनी निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट पूर्वप्रदेश सांसद सूर्यराज राईको नाम समानुपातिक सूचीमा राखिएको छ भने बसन्त भट्टराई, अताबुल मन्सुर, भैसीदेवी खवास, पम्फा धिमाल, रुक्मिणी धिमाल र रेखबहादुर तामाङको नाम पनि समानुपातिकतर्फ सिफारिस भएको छ ।
मोरङ क्षेत्र नम्बर–१ बाट पूर्वमन्त्री डिकबहादुर लिम्बू, कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सीता कार्की र इन्दुदेवी चौधरीको नाम अघि सारिएको छ । २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट लिम्बू निर्वाचित भएका थिए ।
मोरङ क्षेत्र नम्बर–४ बाट पूर्वमन्त्री महेश आचार्य, दिलीपकुमार गच्छदार, गुरुराज घिमिरे, विनोद बस्नेत र दुर्गा कोइरालाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । यस क्षेत्रबाट समानुपातिकतर्फ भक्तीनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा, उदय राजवंशी, चन्दन चौधरी, मनोज परियार र विजय माझीको नाम सिफारिस सूचीमा परेको छ ।
मोरङ क्षेत्र नम्बर–५ बाट हसन अन्सारी, राजेश गुप्ता, फूलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम प्रत्यक्षतर्फ सिफारिस हुँदा समानुपातिकतर्फ रामनारायण केवरत, अर्जुन निरौला, सुवोधकुमार सिंह, जंगदेव साह, कमला श्रेष्ठ, आश्विनी मण्डल र मिना मुर्मुको नाम सिफारिस गरिएको छ ।
युवाहरू अघि नसरेको दाबी गर्दै कांग्रेस मोरङ सभापति लिम्बूले भने, ‘चुनाव लड्ने विषयमा युवाहरू तयार भइसकेका छैनन्, जबरजस्ती उभ्याउने विषय एउटा रहला,’ उनले थपे, ‘अलिक परिपक्क र कार्यकर्ताले विश्वास गरेका साथीहरू नै सिफारिस भएर आउनु भएको छ ।’ उनले युवाहरू राजनीतिमा कति तयार छन् भन्ने मुख्य विषय भएको उल्लेख गर्दै भने, ‘युवाहरू आउने परिस्थिति बनिरहेको छैन, बन्छ विस्तारै ।’ युवाहरू तयार नभएको अवस्थामा पार्टीका सिनियर नेताहरूको नाम स्वाभाविक रूपमा सिफारिस भएको उनको भनाइ छ । ‘विस्तारै विस्तारै चुनाव लड्ने युवाहरू आउँछन्, यस्तै दबाब रह्यो भने अर्को पटक धेरै युवाहरू आउछन्,’ उनले भने, ‘अर्को पटकसम्म धेरै नेताहरूले रिटायरमेन्ट लिनुहुन्छ, म पनि लिन्छु, युवाहरू आउने वातावरण विस्तारै बन्छ ।’