नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले संगठन निर्माणलाई प्रभावकारी बनाउन नेताहरुलाई आत्मसमिक्षा गर्दै जनसम्पर्क विस्तारमा जोड दिन निर्देशन दिएका छन्।
पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय जनतामाझ माओवादीप्रति बढ्दो विश्वासलाई संगठनमा रूपान्तरण गर्न सक्नुपर्नेमा जोड दिए। प्रचण्डले भने, “जनताको विश्वास कायम छ, तर यसलाई संगठनात्मक शक्तिमा परिणत नगरेसम्म दीर्घकालीन उपलब्धि सम्भव हुँदैन।”
उनले सुदूरपश्चिममा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताउँदै, अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्ने आवश्यकता औंल्याए।
भर्चुअल सहभागी हुनुपरेको कारण उल्लेख गर्दै प्रचण्डले महिलाको राष्ट्रिय सम्मेलनलगायत व्यस्तताका कारण यसपटक प्रत्यक्ष उपस्थित हुन नसकेको बताए। उनले दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सम्पन्न भएपछि सुदूरपश्चिममै आएर प्रत्यक्ष संवाद गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले पार्टी सरकारमा रहँदा हासिल उपलब्धिहरू, खबरदारी अभियान तथा जनसंगठनका गतिविधिका कारण माओवादीप्रति जनविश्वास फेरि बढिरहेको बताए। साथै, आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई अझै बलियो बनाउन आवश्यक रहेको प्रष्ट पारे।
प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले सम्भावनायुक्त प्रदेश भन्दै, त्यहाँका नेतृव र कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध र केन्द्रित अभियानमार्फत परिचालित गर्नुपर्नेमा जोड दिए।