काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभामा रहेका मुख्य दलहरूले दोस्रो तहका नेताहरूलाई पठाउने भएका छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न सोमबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । उक्त बैठकमा नेपाली कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला बैठकमा सहभागी हुने बर्तौलाले बताएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट नेताहरू राजेन्द्र पाण्डे र वर्षमान पुन सहभागी हुने नेता रामकुमार भट्टराईले जानकारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम बैठकमा सहभागी हुने सहमहामन्त्री विपिन आचार्यले बताएका छन् ।