फागुन २१ निर्वाचन मानकको आधार’ : प्रधानमन्त्री कार्की

nepaltext

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा निर्वाचन आयोगले अपनाएको मापदण्ड आगामी निर्वाचनहरूमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन्।

निर्वाचन सम्पन्न भएको अवसरमा आज बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालय परिसरमा आयोजित जलपान कार्यक्रममा बोल्दै उनले यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको उल्लेख गरिन्। देशभर कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्न नपरेको अनुभवलाई आगामी निर्वाचनका लागि उदाहरणका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले यस निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार गरेको र लोकतान्त्रिक मूल्य तथा संवैधानिक प्रणालीलाई मजबुत बनाएको बताइन्। “यसले नेपालप्रतिको विश्वास र सम्मान बढाएको छ,” उनले भनिन्।

आफू गत भदौ अन्तिम साता प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी तथा राजनीतिक अन्योल र सुरक्षा चुनौती रहेको स्मरण गर्दै उनले त्यस्तो अवस्थाबाट सफलतापूर्वक निर्वाचन सम्पन्न गरिनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। प्रारम्भमा चुनौती भए पनि निर्वाचन आयोगको दृढता र सरकारको सहकार्यले प्रक्रिया सफल भएको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन घोषणा पश्चात् जारी अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले नामावलीमा नाम दर्ता गराई उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका थिए। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको भन्दै उनले निर्वाचन आयोगप्रति आभार व्यक्त गरिन्।

प्रतिक्रिया