सिफल उकालोमा धर्मभक्त माथेमाको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

श्याम खतिवडा

सहिद धर्मभक्त माथेमाले प्रजातन्त्रका लागि सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा मंगलबार भावपूर्ण स्मृति सभा आयोजना गरिएको छ । सहिद सप्ताह आयोजक समितिको पहलमा ठीक त्यही दिन र स्थानमा कार्यक्रम गरी उनको बलिदान र योगदानलाई स्मरण गरिएको हो । यस स्थानको करिब पाँच मिटर पूर्वतर्फ २०५३ सालमा स्थापना गरिएको अर्धकदको सालिक सडक विस्तारका क्रममा हटाउनुपरेपछि पश्चिमतर्फ सारिएको थियो र पुरानो कालो ढुंगाको सालिकको सट्टा सेतो ढलोटको नयाँ सालिक राखिएको थियो । पछि काठमाडौं महानगरपालिकाले २०७६ सालमा सो क्षेत्रलाई व्यवस्थित गर्दै पूर्णकदको सालिकसहित पूर्वाधार विकास गरेपछि यही स्थान ऐतिहासिक स्मृतिस्थलको रूपमा स्थापित भएको हो, जहाँ अहिले स्मृति सभा सम्पन्न गरिएको छ । सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिकी संयोजक तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निरङ्कुश शासनकालमा नागरिकले भोग्नुपरेका क्रुरता, असमानता र अपमानजनक अवस्थाबाट भावी पुस्ता मुक्त रहोस् भन्ने उद्देश्यले सहिदहरूको संघर्ष र बलिदानलाई जीवन्त राख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताइन् । उनले धर्मभक्त माथेमामा रहेको राजनीतिक चेतना, शारीरिक सुगठनप्रतिको रुचि र राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुशताविरुद्ध डटेर उभिने साहसलाई स्मरण गर्दै, शासकसँग निकटता हुँदाहुँदै पनि व्यक्तिगत सुख–सुविधा त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान अर्पण गर्ने उनको उदाहरण आजका युवाले आत्मसात गर्नुपर्ने इतिहास भएको उल्लेख गरिन् । माथेमाको त्यही बलिदानकै कारण आज हामी स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।

प्रतिक्रिया