काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई अधिक प्रभावकारी र सहभागितापूर्ण बनाउन नीति अनुसन्धान प्रतिष्ठानले सरकारले चुनावको अघिल्लो र पछिल्लो दिनसहित कम्तीमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने सुझाव दिएको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा नेतृत्वमा तयार पारिएको अध्ययन प्रतिवेदनले लगातार बिदा भएको अवस्थामा देशभरका मतदाताले सजिलै आफ्नो नाम दर्ता भएको क्षेत्रमा पुगेर मतदान गर्न सक्ने निष्कर्ष निकालेको छ।
अध्ययन अनुसार, मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक नीतिगत प्रबन्ध मिलाई चुनावका लागि तीन दिन छुट्टीको व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख छ। यसले विशेषतः काम, पढाइ वा बसाइँसराइका कारण स्थायी ठेगानामा नभएका मतदातालाई ठूलो सहजता मिल्ने अध्ययनले बताएको छ।
त्यस्तै, म्यादी प्रहरी, सुरक्षाकर्मी, निजामती, शिक्षकलगायत चुनावमा खटिने कर्मचारीलाई आफू खटिएकै बुथबाट समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने हालको अभ्यासलाई अझ स्पष्ट, सरल र विधिक रूपमा व्यवस्थित गर्न मतदाता नियमावली ऐनको सम्बन्धित दफामा संशोधन गर्न सुझाव दिइएको छ। उनीहरूलाई परिचयपत्रका आधारमै मतदानमा सहभागी हुन दिने लचिलो व्यवस्था आवश्यक रहेको प्रतिष्ठानको धारणा छ।
प्रतिष्ठानले केही दिनअघि नै यो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको छ। आगामी फागुन २१ गते बिहीबार निर्वाचन हुने तय भएको छ।
प्रतिष्ठानको प्रस्तावित तीन दिन बिदा लागू भएमा यसपालि झण्डै पाँच दिन लगातार सार्वजनिक बिदा पर्ने सम्भावना छ। फागुन १८ गते काठमाडौँसहित पहाडी जिल्लामा फागु पूर्णिमाको बिदा, फागुन 19 गते तराईका जिल्लामा फागु पूर्णिमा, त्यसपछि फागुन २०, २१ र २२ गते (प्रतिष्ठानको सिफारिस अनुसार) बिदा र फागुन २३ गते शनिबार परेको छ। फागुन २४ गते फेरि नारी दिवसको बिदा परेकाले लगातार छुट्टीले नागरिकहरूलाई सजिलै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गर्न थप सहजता दिने अध्ययनमा उल्लेख छ।