रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार शनिबार राति करिब १०:३० बजे सडकमा शकास्पद सुटकेश भेटिएपछि आइतबार बिहान प्रहरी टोलीले खोल्दा भित्र अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो। शव डोरीले बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
महिलाको शवमा साडी छिरिएको देखिएकाले हत्या गरी सुटकेशमा राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृतकको पहिचान भने अहिलेसम्म हुन सकेको छैन।
प्रहरीले घटनास्थल नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज जाँच गर्दै अनुसन्धान अघि बढाएको छ। महिलाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।
यसअघि गौर–५ मा सहाबुदिन मिया छुरा प्रहारमा मारिएका थिए भने सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा भेटिएको थियो। यो साता मात्र रौतहटमा तीन जनाको शव फेला परिसकेको छ।