काठमाडौँ — नेपाली कांग्रेसले रातभरको आन्तरिक कसरतपछि प्रतिनिधिसभाको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सूची बुझाउने अन्तिम समय सोमबार रातिसम्म रहेकाले कांग्रेसले त्यसअघि नै आयोगमा निस्सा दर्ता गराइसकेको थियो। पार्टी कार्यालय सानेपा नजिकैको एक कटेजमा सोमबार अबेर रातिसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूको नाम अन्तिम रूप दिएको थियो। त्यसपछि तयार पारिएको सूची लिएर प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल राति नै आयोग पुगेका थिए, तर केही नाम सच्याउनुपर्ने भएपछि उनीहरू पुनः सभापति शेरबहादुर देउवाकहाँ पुगेका थिए। संशोधनपछि अन्ततः ११० जनाको नाम समेटिएको समानुपातिक बन्दसूची कांग्रेसले आयोगमा बुझाएको हो।
कांग्रेसभित्रका विभिन्न समूहबीचको रस्साकस्सीका कारण उम्मेदवार छनोट प्रक्रिया जटिल बनेको र त्यसकै असर सूची बुझाउन ढिलाइ भएको एक केन्द्रीय सदस्यले बताए। आन्तरिक सहमति जुटाउन समय लाग्दा पार्टीलाई अन्तिम घडीसम्म बैठक र छलफलमा जुट्नुपरेको नेताहरूको भनाइ छ।