२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म परे पनि त्यसले ठूलो फरक नपर्ने बताएका छन्। सरकारले फागुन २१ गतेका लागि मिति तोकेकामा त्यो केही समय पछाडि सारिएर वैशाखमा पुगे पनि स्वभाविक रूपमा स्वीकार्य हुने उनको भनाइ छ। शर्माले यसका तीन कारण प्रस्तुत गरेका छन्—जेनजीलाई अपनत्व महसुस गराउने, विश्वसनीय चुनावी वातावरण विकास गर्ने र हिमाली क्षेत्रका मतदातालाई सहज बनाउने।
समाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘GenZ समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’ जेनजी र सरकारबीच भएको सहमतिको स्वागत गर्दै उनले यसको कार्यान्वयनमा फागुन २१ को मिति बाधक हुन नहुने पनि बताएका छन्।
यद्यपि उनले सहमति प्रक्रियामा राजनीतिक दलहरुलाई सहभागी नगराइएकोमा असन्तुष्टि जनाएका छन्। कार्यान्वयनका क्रममा यस विषयमा सरकार गम्भीर बन्नुपर्ने सुझाव पनि उनले दिएका छन्।