सिराहा । सिराहा जिल्ला गोलबजार नगरपालिका–१३ डंग्राहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । चार दिनदेखि बेपत्ता रहेका उनको शव सोमबार बिहान करिब ६ बजे घर नजिकै आँपको रुखमुनी क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सड्न थालेपछि दुर्गन्ध फैलिँदा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार शवमा नीलडामका साथै खुट्टाको छाला पिल्सिएको छ भने हत्या पश्चात् आगो लगाइएकाले वा एसिड खन्याइएकाले क्षति पुगेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तकुमार शर्माका अनुसार घटना अपहरणपछि हत्या भएको स्पष्ट देखिएको छ । मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याई विस्तृत अनुसन्धान भइरहेको छ ।
अभिषेक असोज ५ गते राति खाना खाएपछि घर बाहिर निस्कँदा बेपत्ता भएका थिए । भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै प्रहरीलाई जानकारी दिए पनि बालकको जीवित उद्धार हुन सकेन ।
सात वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागी मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए । विद्यालय पढाइ छाडेका उनी घरको जीविकोपार्जनका लागि सिटी रिक्सा र ट्रयाक्टर चलाउँदै आएका थिए ।
बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमा डुबेको छ । गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको महसुस गरिरहेका छन् । ‘५ करोड लिएर आउनु, अभिषेक हाम्रो कब्जामा छ,’ भन्ने धम्कीपूर्ण सन्देश आएको दिनदेखि नै परिवार त्रसित बनेको थियो । मृतकका आफन्तले प्रहरी खोजतलासमा ढिला भएको गुनासो गरेका छन् ।
प्रहरीले भने घटनामा संलग्न अपराधीलाई चाँडै नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइने जनाएको छ ।