यो सजिलो बाटो होइन, अग्रज र जेनजीसँगै ठूलो संघर्ष गर्नुपर्ने बेला आएको छ: सन्तोष परियार

श्याम खतिवडा

७ मंसिर, काठमाडौं । रास्वपा परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक अभियानतर्फ मोडिएका सन्तोष परियारले आफूहरूले थालेको यात्रालाई “कठिन तर आवश्यक” बाटो भनेका छन्। सजिलो बाटो हिँड्न सकिनेजस्तो अवस्था कहिल्यै नआएको बताउँदै उनले चुनौती स्वीकार्दै अघि बढ्नुपर्ने आवश्यकता दोहोर्‍याए।

काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजित वृहत एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको उर्जालाई एउटै दिशामा उभ्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने: “अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ, यही सघर्ष गर्ने क्रममा आज हामी वृहत एकता घोषणा सभा गर्दैछौं।”

परियारले सबैलाई अभियानमा जोडिन आग्रह गर्दै थपे: “यदि आज पनि यो समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन। यसर्थ एउटा संघर्ष गरौं। यो सजिलो बाटो त होइन। तर हामी सधैं सजिलो बाटो हिँड्न पनि पाउँदैनौं।”

सभाका अध्यक्ष समेत रहेका परियारले जेनजी आन्दोलनपछि देश गम्भीर मोडमा पुगेको जिकिर गर्दै वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई संकीर्णता त्यागेर अभियानमा उभिन आह्वान गरे।

उनले इतिहासका बारेमा बोल्दै भने: “रुख त आजभन्दा २० वर्ष पहिला नै रोप्नुपर्थ्यो तर आज चाहिँ ढिला गर्नु हुँदैन। जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरु हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ। आजसम्म नेपालको इतिहासमा सिकारीको इतिहास लेखियो, शासनसत्तामा बस्नेहरुको लेखियो अब जनताको इतिहास लेखिने छ।”

प्रतिक्रिया