८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट निर्वाचित सभापतिले हस्ताक्षर गर्ने बताएका छन्।
निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहने विषयमा आइतबार निर्वाचन आयोगमा दल दर्तापछि उठेका सवालको प्रष्टिकरण गर्दै महामन्त्री थापाले यस्तो बताए। उनले सोमबार बिहानैदेखि पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनाव लड्ने विषयमा प्रश्न गरिरहेको जानकारी दिएका छन्।
महामन्त्री थापाले भने, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने: होइन। साथीहरूले फेरी सोध्नुभयो कसरी? मैले भनेँ– प्रष्ट छ।’
उनले स्पष्ट पारे, विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुनेछ र त्यहाँ निर्वाचित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी आगामी निर्वाचन लड्नेछ। ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ,’ उनले भने। ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’
महामन्त्री थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि आग्रह गरे। ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं,’ उनले लेखेका छन्।