नवलपुरमा आयोजित थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको भौदी खेल प्रतियोगितामा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायका अधिकार, पहिचान र संवैधानिक मान्यता माओवादी जनयुद्ध र आन्दोलनको उपलब्धि भएको बताएका छन्।
उनले संविधान निर्माण प्रक्रियामा माओवादीले थारूलाई छुट्टै क्लस्टरका रूपमा स्थापित गर्ने र संवैधानिक आयोगको व्यवस्था गर्न बलियो आवाज उठाएको स्मरण गराए। साथै, गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले नवलपुरलाई विशेष वा स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए।
थारू संग्रहालयका लागि छुट्याइएको ७ बिघा जग्गा अझै भोगाधिकार नआएकोप्रति चिन्ता व्यक्त गर्दै उनले संसद र मन्त्रालयस्तरमा पहल गर्ने प्रतिबद्धता जनाए।
प्रचण्डले भौदी खेललाई थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा भन्दै ‘थारूहरूको क्रिकेट’ को संज्ञा दिए। उद्घाटन कार्यक्रममा उनले खेलमा केही क्षण सहभागिता पनि जनाए।
साथै, उनले युवाकालमा नवलपुरको त्रिभुवन टारस्थित विद्यालयमा करिब ६ महिना शिक्षकको रूपमा बिताएको अनुभव सुनाउँदै यहाँको समुदायप्रति आफ्नो भावनात्मक लगाव रहेको उल्लेख गरे।