कैदीबन्दी र कर्मचारीले बाढीपीडितका लागि गरे आर्थिक सहयोग

nepaltext

दोलखा — रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि दोलखा कारागारका कर्मचारी र कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।

कारागार कार्यालय दोलखामा कार्यरत कर्मचारी तथा कैदीबन्दीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंक भौचरबाट देखिन्छ। ग्लोबल आईएमई बैंकको भौचरमा कोषको खाताको नाम ‘PRIME MINISTER DISASTER RELIEF FUND’ उल्लेख छ।

कारागार कार्यालय चरिकोटको तस्बिर तथा हस्तलिखित विवरणमा बाढी तथा विपद्मा परेका नागरिकको राहतका लागि रकम संकलन गरी कोषमा जम्मा गरिएको उल्लेख छ। बैंक भौचरमा पनि रकम जम्मा गर्नुको उद्देश्य राहत/सहयोगका रूपमा उल्लेख गरिएको देखिन्छ।

कारागारजस्तो सीमित स्रोतसाधन र बन्द वातावरणमा रहेका कैदीबन्दीसमेत विपद्मा परेका नागरिकको पीडामा सहभागी हुँदै सहयोग गर्नु मानवीय संवेदनाको उदाहरण भएको छ। कर्मचारीसँगै कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम संकलन गरी राज्यको राहत कोषमा योगदान दिएका हुन्।

बैंक भौचरमा मिति २०८३/०६/०६ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरिएको स्पष्ट देखिन्छ। यसले विपद्को समयमा कारागारभित्र रहेका कैदीबन्दीसमेत राहत अभियानमा जोडिएको पुष्टि गर्छ।


प्रतिक्रिया