काठमाडौं । शेयर बजारमा देखिएका विकृति र अनियमितताविरुद्ध लगानीकर्ताहरुले शुक्रबार धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रम गरेका छन्।
‘हिँड काठमाडौं’ अभियानअन्तर्गत सयौं लगानीकर्ताहरु बिहानै नेपाल धितोपत्र बोर्डको कार्यालय पुगेर बजार सुधारका मागसहित प्रदर्शनमा उत्रिएका हुन्।
लगानीकर्ताहरुले बजार सुधार, विस्तार र स्तरोन्नतिको माग गर्दै १८ बुँदे ज्ञापनपत्र समेत तयार पारेका छन्। उनीहरुले बोर्ड र सरकार दुबैलाई लगानीकर्ताको हितमा जिम्मेवार बन्न आग्रह गरेका छन्।
कार्यक्रममा सहभागी लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्ड स्थापना नै लगानीकर्ताको हितका लागि भए पनि हालसम्म प्रभावकारी काम गर्न नसकेको आरोप लगाए।
उनले भने, “हामीले खाना खाएको थाली सफा नगरी फेरि त्यसमै खान सकिँदैन। बजार पनि सुधार र शुद्धीकरण बिना चलायमान हुँदैन।”
उनका अनुसार सरकार र बोर्ड दुबैले लगानीकर्ताको हितमा तत्काल ध्यान दिनु जरुरी छ। “यदि बोर्ड लगानीकर्ताका लागि होइन भने यसको अस्तित्वको औचित्य नै के हो?” उनले प्रश्न गरे।
अग्रवालले अन्तरिम सरकारले लगानीकर्ताका पक्षमा काम गर्ने आशा व्यक्त गर्दै भने, “अहिलेको सरकारले काम गर्छ भन्ने अपेक्षा गरेका छौं। यदि यसपालि पनि सरकार निष्क्रिय रह्यो भने अघिल्ला सरकारहरूसँग फरक केही हुनेछैन।”
अभियानका अगुवा आदित्य शिवाकोटीले धितोपत्र बोर्डलाई भ्रष्टाचारमुक्त बनाउन र लगानीकर्ताको हकहित सुनिश्चित गर्न ‘हिँड काठमाडौं’ अभियान अघि बढाइएको बताए।
उनका अनुसार, “१८ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ। बोर्डलाई जिम्मेवार र पारदर्शी बनाउन यो अभियान निरन्तर चल्नेछ।”