२४ मंसिर, काठमाडौं । सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई दोहोरो वा तेहरो पद धारण नगर्न कठोर निर्देशन जारी गरेको छ । सहकारी ऐनले व्यवस्था गरेको ‘एक व्यक्ति एक पद’ को कानुनी प्रावधान कार्यान्वयनमा कडाइ गर्न विभागले सोमबार निर्णय गर्दै दफा ४१(५) र दफा ४४(१)(ग) मा समेटिएका नियमहरू तत्काल लागू गर्न आदेश दिएको हो । विभागका अनुसार केही व्यक्तिहरू हालसम्म पनि विभिन्न सहकारी संस्थामा दोहोरो सञ्चालकका रूपमा क्रियाशील रहेको पाइएकाले कानुनी व्यवस्था यथाशीघ्र लागू गर्न सहकारी संस्था तथा सञ्चालकहरूलाई निर्देशन गरिएको हो ।
विभागले राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरूले सहकारीहरूका लागि जारी गरेको मापदण्ड—विशेषगरी बचत तथा ऋण सहकारीको सञ्चालन, सहकारी संघ–संस्थामा सुशासन प्रवर्द्धनका लागि जारी एकीकृत निर्देशन, साथै २०८१ को परिच्छेद ७ मा उल्लेखित ‘एक सदस्य एकै अवधिमा एकभन्दा बढी सहकारी संस्थामा सञ्चालक वा पदाधिकारी हुन नपाइने’ व्यवस्था—सबैलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । राष्ट्रिय सहकारी बैंक र विभिन्न संघ–संस्थामा दोहोरो पदाधिकारसम्बन्धी समाचार सार्वजनिक भएपछि विभागले प्रावधान कार्यान्वयनमा थप कडाइ अपनाएको स्पष्ट पारेको छ ।
सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्दै मूल्य, मान्यता तथा सिद्धान्त मजबुत बनाउन कानुनको पालना अनिवार्य रहेको विभागले जनाएको छ । स्वार्थको द्वन्द्व रोक्न, स्रोतको दुरुपयोग नियन्त्रण गर्न तथा सञ्चालक समितिको वैधानिकता कायम राख्न सबै सञ्चालक र संस्थाहरू सचेत रहनुपर्ने विभागको भनाइ छ । साथै, नियमनकारी निकायहरूले अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणका क्रममा कानुनी प्रावधान नपालिएको पाईएमा सहकारी ऐन र नियमावलीअनुसार आवश्यक कारबाही गरिने चेतावनी विभागले दिएको छ ।