काठमाडौं ।कागेश्वरी मनोहरा–७, काँडाघारीस्थित डेल्टा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सामाजिक सुरक्षा कोषसँग आबद्ध भएको छ। अस्पताल सामाजिक सुरक्षा कोषको स्वास्थ्य सेवा सञ्जालमा जोडिएसँगै कोषमा योगदान गर्ने योग्य योगदानकर्ताले डेल्टा अस्पतालबाट समेत स्वास्थ्य उपचार सेवा लिन सक्ने भएका छन्।
नेपाल सरकारको सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार डेल्टा अस्पताललाई रोजगारदाता सूचीकरण प्रमाणपत्र प्रदान गरेको हो।
सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजनाअन्तर्गत योग्य योगदानकर्ताले आबद्ध अस्पतालबाट OPD तथा IPD उपचार, चिकित्सकीय परामर्श, परीक्षण तथा औषधि उपचारसम्बन्धी सुविधा लिन सक्ने व्यवस्था रहेको डेल्टा अस्पतालका प्रवन्ध निर्देशक डा. रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
कोषका अनुसार OPD उपचारमा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्मको खर्चको ८० प्रतिशत र IPD उपचारमा अधिकतम १ लाख रुपैयाँसम्मको खर्चको ८० प्रतिशतसम्म कोषले व्यहोर्ने व्यवस्था छ।
यससँगै डेल्टा अस्पतालमा सामाजिक सुरक्षा कोषमा योगदान गर्ने विभिन्न क्षेत्रका श्रमिक तथा योगदानकर्ताले उपचार सेवा लिन पाउने भएकाले अस्पतालको सेवा पहुँच अझ व्यापक हुने भएको छ।
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्य उपचारलाई सहज बनाउन देशभरका स्वास्थ्य संस्थालाई आफ्नो प्रणालीमा आबद्ध गराउँदै आएको छ। कोषका अनुसार स्वास्थ्य सुविधा प्राप्त गर्न तोकिएका अवस्थामा कोषको प्रणालीमा आबद्ध अस्पतालबाटै सेवा लिनुपर्ने व्यवस्था छ।
डेल्टा अस्पतालको सामाजिक सुरक्षा कोषसँगको आबद्धताले काँडाघारी क्षेत्रमा मात्र नभई सामाजिक सुरक्षा कोषमा योगदान गर्ने नागरिकका लागि समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने थप विकल्प सिर्जना गरेको अस्पतालका जनसम्पर्क अधिकृत उमेश कार्किको भनाइ छ ।