चार किलोभन्दा बढी कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

nepaltext.com

काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा सिनामंगल नजिकबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाका अनुसार उनीहरूले नेपालमा बसेर कोकिनको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

निरौलाका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम कोकिन बरामद गरिएको छ । यस्तै लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतीय नागरिक जेभियर र नेपालमा कोकिन लिन आएका अर्का भारतीय नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन फेला परेको उनले बताए । थाइल्याण्डकी नागरिक कामाले १२ वटा प्लाष्टिकमा क्याप्सुलभित्र लुकाएर कोकिन ल्याएको र भारतीय नागरिक जेभियरले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध बरामद गरेको हो ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रतिक्रिया