दोलखा — दोलखाकी नेतृ स्मृति सन्चुरी प्रतिनिधि सभाको समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक नतिजाअनुसार सन्चुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दलित महिला क्लस्टर अन्तर्गत सांसद बनेकी हुन्।
कालिन्चोक गाउँपालिका–३ लामिडाँडा स्थायी घर भएकी २८ वर्षीया सन्चुरीलाई रास्वपाले दलित महिलातर्फ समानुपातिक सूचीमा चौथो नम्बरमा सिफारिस गरेको थियो।
सन्चुरीको निर्वाचनसँगै दोलखाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदको संख्या थपिएको छ। यसअघि रास्वपाकै जगदिश खरेल प्रत्यक्ष निर्वाचनमार्फत विजयी भइसकेका छन्।
विशेषगरी कालिन्चोक गाउँपालिकाबाटै तीन जना सांसद निर्वाचित भएका छन्। सन्चुरी र खरेल दुवै सोही पालिकाका बासिन्दा हुन्।सन्चुरीको घर कालिन्चोक–३ लामिडाँडामा रहेको छ भने खरेल कालिन्चोक–८ सुनखानीका हुन्।
साथै कालिन्चोक–७ का अर्का नेता जगदिश खरेल पनि ललितपुर–२ बाट रास्वपाको उम्मेदवारका रूपमा प्रत्यक्ष निर्वाचन जितेर संसदमा पुगेका छन्।
त्यसैगरी तामाकोशी गाउँपालिका स्थायी घर भएकी सोविता गौतम चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
यससँगै दोलखासँग सम्बन्धित चार जना सांसद प्रतिनिधि सभामा पुगेका छन्, र ती सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्।