काठमाडौँको टुँडिखेलमा आज परम्परागत घोडे जात्रा पर्व धूमधामका साथ मनाइएको छ। कार्यक्रममा नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा विभिन्न युद्धकला प्रस्तुत गर्दै आकर्षक प्रदर्शन गरेका थिए।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत संवैधानिक निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यही अवसरमा ललितपुरमा पनि परम्पराअनुसार ‘कानो घोडा’ दौडाएर घोडे जात्रा मनाउने चलन कायम छ। जनविश्वास अनुसार, टुँडिखेलको पूर्व-दक्षिण क्षेत्रमा बस्ने भनिएका गुरुमापा नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिने भएकाले, प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडे जात्रा आयोजना गरी घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने परम्परा रहिआएको छ। साथै, बालबालिकाको सुरक्षाका लागि गुरुमापालाई उक्त स्थानमा खानेकुरा अर्पण गर्ने चलन पनि प्रचलित छ।