‘एमाले उतेजना फैलाउला, तर समाधान दिने कांग्रेसले मात्र हो’: गगन थापा

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान जटिलता समाधान गर्न कांग्रेस नै अग्रसर हुनुपर्ने आवश्यकता दोहोर्याउँदै, एमालेबाट त्यस्तो अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्दै उनले कांग्रेस र एमालेबीच मूलभूत चरित्रगत अन्तर रहेको र अहिलेको संवेदनशील अवस्थामा कांग्रेसले नै जिम्मेवारीपूर्वक नेतृत्व लिनुपर्ने धारणा राखे।

महामन्त्री थापाले भदौ २३–२४ को जेनजी आन्दोलनपछि मुलुकका अघि तीन विकल्प देखिएको बताए। उनले भने, ‘पहिलो ध्रुवीकरण अझै बढ्ने, थप हिंसा बढ्ने,’ र अर्को विकल्पतर्फ संकेत गर्दै थपे, ‘दोस्रो, भदौ २३ गते भन्दा अगाडिको केही सामान्य टालटुल भएर जाने।’ यी दुबै बाटो मुलुकलाई अघि बढ्न नदिने भन्दै उनले तेस्रो विकल्पलाई मात्र सार्थक बताए। उनका शब्दमा, ‘हामी तेस्रो बाटोमा जानुपर्छ। तेस्रो बाटो भनेको अहिलेको असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्दै त्यसलाई सम्हाल्दै यो संविधानलाई पनि जोगाउँदै, प्रणालीलाई पनि जोगाउँदै जानुपर्छ र यो काम नेपाली कांग्रेस पार्टीले नै गर्नुपर्छ अरू कसैले गर्न सक्दैन।’

एमालेले समस्या समाधान गर्न नसक्ने दाबी गर्दै उनले पार्टीको स्वभाव नै त्यसका लागि अनुकूल नभएको बताए। ‘नेकपा एमालेले त सक्दैन। एमालेको यस्तो चरित्र नै होइन। एमालेले उत्तेजना फैलाउन सक्ला। तर, अहिलेको समस्या समाधान गर्न सक्दैन,’ उनले स्पष्ट गरे। संविधान सभाकालका प्रसंगहरू स्मरण गर्दै उनले कांग्रेस र एमाले नेताहरूको नेतृत्व शैलीबारे तुलना पनि प्रस्तुत गरे। ‘त्यसबेला केपी ओली खुट्टा कमाउने होइन, दुई तिहाइ बहुमत छ, माओवादीलाई देखाइदिने हो भन्नुहुन्थ्यो,’ उनले भने, ‘हाम्रो सुशील दाइ (सुशील कोइराला) पनि बोल्नुहुन्थ्यो। तर, उहाँले बोलेको पनि राम्रोसँग बुझिन्नथ्यो। त्यसबेला नेता त ओली जस्तो हुनुपर्छ भन्ने हामीलाई लाग्थ्यो।’ तर संविधान माओवादीलाई विश्वासमा लिएर जारी गर्ने तहसम्म ल्याउने नेतृत्व कांग्रेसकै भएको उनको दाबी छ।

थापाले कांग्रेसको मौलिक चरित्रलाई सम्झाउँदै भने, ‘हाम्रो चरित्र त्यो हो नि! हाम्रो क्यारेक्टर एमालेको जस्तो होइन,’ र थपे कि एमालेजस्तै आक्रामक शैलीबाट वर्तमान अवस्था सम्हालिँदैन। उनका अनुसार कांग्रेसले राष्ट्रिय तथा बहुपक्षीय संवादलाई प्राथमिकतामा राखेर सबै पक्षसँग सहमति निर्माण गर्दै अघि बढ्नुपर्छ। ‘हाम्रो चरित्र त्यो होइन। हामीले त अहिले राष्ट्रिय संवाद गर्नुपर्छ। बहुपक्षीय संवाद गर्नुपर्छ,’ उनले भने, ‘सबै दलसँग, जेनजी आन्दोलनमा लागेका मान्छेसँग संवाद गर्नुपर्छ। सरकारसँग गर्नुपर्छ। यो काम कांग्रेसले गर्नुपर्छ।’

उनी अनुसार, २०४६ को प्रजातन्त्र र ६२–६३ को आन्दोलनले स्थापित गरेका समानुपातिकता र समावेशीतालाई प्रभावकारी बनाउन भ्रष्टाचार, सुशासन र पारदर्शिताबारे उठेको वर्तमान जनआवाजलाई पनि कांग्रेसले गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने अवस्था आएको छ। त्यसैले संविधान र प्रणाली दुवैलाई जोगाउँदै आवश्यक सुधार र नयाँ धारणा थप्न कांग्रेस तयार हुनुपर्ने उनले बताए। ‘अब नयाँ कुरा थप्ने हामी गर्छौं नेतृत्व। हामीले सम्हाल्छौं। हाम्रो भाषा यो हुनुपर्छ। हाम्रो टोन यो हुनुपर्छ,’ उनले जोड दिए।

महाधिवेशनले पार्टीलाई जनतासँग नयाँ ढङ्गले संवाद गर्ने अवसर दिने उनको तर्क थियो। सो सम्बन्धमा उनले प्रश्न उठाए, ‘के यो गर्नुपर्छ भनेर भन्दै गर्दा हामीलाई आज पत्याउने अवस्था छ?’ उनका अनुसार, कांग्रेसको ‘नैतिक प्राधिकार’ कमजोर भइरहेको अवस्थामा महाधिवेशन नै पार्टीलाई सही स्थानमा उभ्याउने अवसर हो। ‘हामी ठिक ठाउँमा उभियौं भने मात्रै अरूलाई पनि ठिक ठाउँमा उभिनका निम्ति हामी भन्न सक्छौं। महाधिवेशन त्यो अवसर हो,’ उनका अनुसार।

अन्त्यमा उनले जनतालाई पार्टीले परिवर्तनको ग्यारेन्टी दिने प्रतिबद्धता जनाउँदै भने, ‘पार्टीले जनतालाई यो त्यही कांग्रेस होइन। यो फरक कांग्रेस हो भन्नेछ। तिमी मसँग रिसाएका छौ, मैले तिम्रो कुरा सुने। मैले यी कुरा सच्याउँछु भन्नेछ।’

प्रतिक्रिया