४ पुस, काठमाडौं ।उच्च अदालत पाटन, ललितपुर परिसरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन्।
करिब ३० वर्षीया ती युवतीले बिहीबार अदालत परिसरमै किटनाशक विषादी सेवन गरेर आत्महत्या प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो।
प्रहरीका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि युवतीले आत्महत्या प्रयास गरेकी हुन्।
यसअघि काठमाडौं जिल्ला अदालतले पनि उक्त मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियो। सो आदेशविरुद्ध युवती उच्च अदालत पाटन पुगेकी थिइन्। तर उच्च अदालतले समेत धरौटीमै रिहा गर्न आदेश दिएपछि उनी मानसिक तनावमा परेर आत्महत्या प्रयास गरेको बताइएको छ।
४ पुस २०८२, शुक्रबार ११:४६ मा प्रकाशित