काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पुस २६ देखि २८ गतेसम्म तय गरिएको पार्टीको १५ औँ महाधिवेशन कार्यतालिका कार्यान्वयनका लागि दिएको क्रियाशील सदस्यता नवीकरणको म्याद गतराति १२ बजे सकिएको छ । म्याद सकिए पनि नवीकरणको काम भने अझै पूरा हुन नसकेको समितिले जनाएको छ । महामन्त्री गगन थापा नेतृत्वको समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार, ‘गयरातिबाट नवीकरणका लागि हामीले दिएको म्याद सकिएको छ । तर, काम भने सकिएको छैन,’ उनले रातोपाटीसँग भने, ‘अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दछौँ ।’ उनका अनुसार आज बस्ने बैठकमा नवीकरणको बाँकी काम कसरी टुंग्याउने भन्ने विषयमा छलफल हुनेछ ।
धेरैजसो जिल्लामा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विवाद अझै मिल्न नसकेको अवस्था छ । यसैबीच, नयाँ क्रियाशील सदस्यता वितरणका लागि केन्द्रबाट पठाइएका फारममा ‘सिरियल नम्बर’ नराखिएको विषयले अर्को विवाद जन्माएको छ । केन्द्रले मंसिर मसान्तसम्म नयाँ सदस्यता वितरणका लागि फारम पठाइसकेको भए पनि तीमध्ये ठूलो संख्यामा सिरियल नम्बर नराखिँदा समस्या उत्पन्न भएको हो । कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ६ लाख फारम जिल्लाहरूमा पठाएकोमा ४ लाख फारममा सिरियल नम्बर नराखिएको तथ्य बाहिर आएको छ । यो विवाद कसरी समाधान गर्ने भन्ने विषय पनि आजकै बैठकमा छलफल हुने चौधरीले बताएका छन् ।
महामन्त्री थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू सिता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन् । समितिभित्र सिरियल नम्बर नभएका फारमको विषयमा मतभेद देखिएको छ । पार्टीभित्रको संस्थापन पक्ष सिरियल नम्बर नभएका फारम फिर्ता मागेर केन्द्रमै सिरियल नम्बर राखेर पुनः पठाउनुपर्ने पक्षमा छ । तर संयोजक थापा र सदस्य स्नेहीले भने जुन समितिमा फारम पुगेको छ, त्यही समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने धारणा राखिरहेका छन् । समितिका सदस्य चौधरी र गुरुङ संस्थापन पक्षका नेता हुन् । संस्थापन पक्षीय नेताहरूले केन्द्रबाट पठाइएका फारम तल्लो तहसम्म पुग्दा गुटगत प्रभावका कारण वडा, पालिका हुँदै क्षेत्रसम्म आइपुग्दा फेरबदल हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् । यता, संयोजक थापाले भने फारम पुगेकै समितिलाई सिरियल नम्बर राख्ने जिम्मेवारी दिनु नै उपयुक्त हुने बताउँदै आएका छन्, जसमा सदस्य स्नेहीले पनि समर्थन जनाइरहेका छन् ।