काठमाडौंमा मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामै २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार हुँदै त्यसले पनि नयाँ रेकर्ड बनाएको थियो, तर मंगलबार फेरि बढेर सुनले अर्को इतिहास रचेको हो । यससँगै छापावाल सुनको मूल्य १० ग्राममै २ लाख ३७ हजार ५५ रुपैयाँ पुगेको छ । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ । मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको महासंघले जनाएको छ, जबकि सोमबार मात्रै चाँदीको मूल्य ५ हजार १९५ रुपैयाँ कायम भएको थियो । लगातार बढ्दो अन्तर्राष्ट्रिय बजार र आन्तरिक मागका कारण बहुमूल्य धातुको मूल्य दिनदिनै नयाँ रेकर्डतर्फ उन्मुख देखिएको छ ।
२९ पुस २०८२, मङ्गलबार ११:४१ मा प्रकाशित