मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन शाहको आग्रह

श्याम खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले मध्यपूर्व एसियाका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिप्रति सजग रहन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले त्यहाँ विकसित भइरहेको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका हुन्।

शाहले नेपालीहरूलाई सम्बन्धित देशका आधिकारिक निकाय र नेपाली राजदूतावासले जारी गरेका निर्देशनहरूलाई गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेका छन्। उनले सकेसम्म घरभित्रै रहन, स्थानीय सुरक्षा निकायको सल्लाह मान्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएका छन्।

आफ्नो सन्देशमा उनले भनेका छन्, “आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,”

शाहले नजिकैको सुरक्षित आश्रय स्थलको जानकारी राख्न र कुनै पनि समस्या परेमा तुरुन्तै राजदूतावाससँग सम्पर्क गर्न समेत आग्रह गरेका छन्। मध्यपूर्वको पछिल्लो अवस्थाका कारण नेपालीहरूको सुरक्षामा चासो बढिरहेका बेला शाहको यो अपिल आएको हो। यता नेपाल सरकार र कूटनीतिक नियोगहरूले पनि आवश्यक सहयोग र समन्वयका लागि आफूहरू तत्पर रहेको जनाएका छन्।

प्रतिक्रिया