काठमाण्डू, १३ पुस — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जनाको नाम समावेश गर्ने सहमति भएको छ। स्रोतका अनुसार रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आइतबार बिहान यससम्बन्धी समझदारी बनेको हो। निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यतालिका रहेको सन्दर्भमा उक्त सहमति महत्वपूर्ण मानिएको छ।
समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कुल ११० जनाको नाम बुझाउनुपर्ने व्यवस्था रहेको छ, जसअनुसार बालेन शाह पक्षबाट ४० जना र बाँकी ७० जना रास्वपाका तर्फबाट नाम समावेश गर्ने समझदारी भएको स्रोतले जनाएको छ। यद्यपि, आइतबार बिहान रास्वपा र बालेन शाहबीच भएको ७ बुँदे सम्झौता पत्रमा समानुपातिक सूचीको बाँडफाँडसम्बन्धी विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन। तर यस विषयमा दुवै पक्षबीच मौखिक समझदारी भएको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘समानुपातिकतर्फ बालेनजीलाई ४० जनाको नाम ल्याउनुस् भनिएको छ,’ र थप्यो, ‘रास्वपाका बाँकी ७० जना हुन्छन्।’ स्रोतका अनुसार बालेन शाहको कोटामा पर्ने समानुपातिक सूचीमा विभिन्न जेन–जी समूहका अगुवाहरूलाई समेत समेट्ने तयारी गरिएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै रास्वपा–बालेन सहकार्यलाई चुनावी रणनीतिको महत्वपूर्ण हिस्साका रूपमा हेरिएको छ भने समानुपातिक सूचीको यो समझदारीले आगामी निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिहरूको समीकरणलाई थप स्पष्ट बनाउने संकेत दिएको छ।