काठमाडौं- जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामा रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न आग्रह गरेको हो।
प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएको छ। बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगाएको प्रशासनले जनाएको छ।
पुलहरू बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको भन्दै प्रशासनले तत्कालका लागि पदयात्रा नगर्न तथा नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको हो। प्रशासनले पदमार्ग क्षेत्रमा कुनै पनि विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत आग्रह गरेको छ।
पुलहरू पुनः सञ्चालनमा आउने अवस्था र पदमार्ग सुरक्षित रहेको सम्बन्धमा प्रशासनबाट अर्को सूचना जारी भएपछि मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
